दफा
जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्ने
(१) दफा ४ को उपदफा (१) बमोजिम दिएको जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने ब्यक्तिले त्यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजुर प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त हुन आएको जाहेरी दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले दफा ४ को उपदफा (३) बमोजिम दर्ता गरी कारबाही गर्नु पर्नेछ ।
(४) दफा ४ को उपदफा (७) बमोजिमको सूचना दर्ता गर्न त्यस उपदफामा उल्लिखित कार्यालय वा अधिकारीले इन्कार गरेमा त्यस्तो सूचना दिने ब्यक्तिले सोही व्यहोरा खुलाई कसूरको सूचना सहित सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष उजुर दिन सक्नेछ ।
तर प्रमुख जिल्ला अधिकारी नै अनुसन्धान अधिकारी तोकिएको रहेछ र निजले त्यस्तो सूचना दर्ता गर्न इन्कार गरेमा गृह मन्त्रालयमा त्यस्तो उजुर दिन सकिनेछ ।
(५) उपदफा (४) बमोजिम उजुर प्राप्त भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा गृह मन्त्रालयले तीन दिनभित्र सूचना दर्ता गर्ने वा नगर्ने निर्णय गरी सम्बन्धित कार्यालयलाई सो बमोजिम गर्न वा गराउन निर्देशन दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको निर्देशन प्राप्त भएपछि सम्बन्धित कार्यालय वा अधिकारीले सो निर्देशन अनुसारको कारबाही गर्नु पर्नेछ ।